सहकारी ठगी प्रकरण : रविलाई बयानको लागि सरकारी वकिल कार्यालय लगियो



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा आज पनि लगिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे शुक्रवारदेखि उनको बयान भइरहेको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएको थियो । गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए । सोही आधारमा उनको समेत त्यसमा बयान लिइएको छ ।

लामिछानेले सो कम्पनीको प्रबन्ध–निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन् ।

कास्की र रूपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ११ : ३० बजे