काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल बनाउनका लागि चीनसँग लिएको ऋण मिनाहा गर्ने विषयमा चिनियाँ पक्षसँग कुनै पनि कुराकानी नभएको बताएका छन्।
४ दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्केका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
ओली चीन जानुअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि चीनसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्ने विषयमा कुराकानी गर्ने भनिएको थियो।
नेपालले जहिले पनि चीनसँग भ्रमणका बेला यो कुरा उठाउने गरेपनि चीनले भने ऋण दिएको कुरालाई अनुदानमा परिणत गर्ने विषयमा कुराकानी गर्न चाहेको छैन।
चीन भ्रमणका क्रममा बीआरआई सहकार्यको सम्झौताले ऋणसँग कुनै सरोकार नराख्ने पनि उनको भनाइ छ।
उनले चीन भ्रमणले सरकारको निर्धारित आयुमा पनि कुनै असर नपर्ने बताए। अबका १८ महिनामा आफूले सरकार हस्तान्तरण गर्ने पनि उनको भनाइ थियो।
‘अब करिब १८ महिनापछि मेरो पालो सकिन्छ। त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु। उहाँले चुनाव गराउनुहुन्छ,’ उनले भने, ‘हामी सबै दलको विश्वासअुनसार बहुमत आए सरकार बन्छ। नभए पनि त्यसको पनि प्रक्रिया हुन्छ।’
आफ्नो चीन भ्रमणका विषयमा भारतीय मिडियाले भड्काउने प्रकृतिका कुराहरू आइरहेको विषयलाई लक्षित गर्दै उनले त्यो तरिका राम्रो नभएको भनाए।
चीनअघि नै भारत जानका लागि प्रधानमन्त्रीले सक्दो प्रयास गरेको तर असफल भएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘भारत भ्रमणका लागि धेरै प्रयास गरेको भन्ने कुरा आधारहीन हो।’














