काठमाडौं । दक्षिण कोरियामा गत साता राष्ट्रपतिले गरेको सैन्य शासन घोषणाका लागि जिम्मेवारी लिँदै पदत्याग गरेका तात्कालिक रक्षामन्त्रीले आत्महत्या गर्न प्रयास गरेको एक अधिकारीले बताएका छन्।
किम योङह्युनले हिरासतमा मङ्गलवार राति आत्महत्या गर्न खोजेको जानकारी त्यहाँको न्याय मन्त्रालयअन्तर्गत रहेको कारागार हेर्ने निकायका प्रमुखले संसद्लाई दिएका थिए।
संसद्को हस्तक्षेप र सर्वत्र विरोध भएपछि राष्ट्रपतिले एक दिन पनि नबिती सैन्य शासन लागु गर्ने आफ्नो घोषणा फिर्ता लिनु परेको थियो। त्यसपछि रक्षामन्त्री र राष्ट्रपति कार्यालयका वरिष्ठ कर्मचारीले राजीनामा दिएका थिए।
आत्महत्याको प्रयास गरेको भए पनि त्यसपछि उनमा स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको शिन योङहेले बताए।
विद्रोह गरेको अभियोगमा राष्ट्रपति र उनका सहयोगीहरूविरुद्ध छानबिन चलिरहेको छ। तीमध्ये किम पनि एक हुन्।
राष्ट्रपतिसहित केही वरिष्ठ अधिकारीहरूलाई यात्रा गर्न प्रतिबन्ध पनि लागेको छ। बीबीसि बाट














