औषधि सम्बन्धी विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उनले आगामी संसद् अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताए ।

उनले औषधि सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको भन्दै विधेयकमा औषधिका विषयमा धेरै कुराहरू समेटिएको उल्लेख गरे । उनले नेपालमा १७३ कम्पनीहरूबाट स्वदेशी औषधि उत्पादन भइरहेको र त्यसबाट नेपाललाई आवश्यक पर्ने ५० प्रतिशत औषधि मात्रै पूर्ति गर्न सकिएको उल्लेख गरे ।

उनले भने, “यो विधेयकमा औषधिका विभिन्न पाटा छन् । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगले औषधि उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशत हाराहारीमा उत्पादन हुन्छ । कतिपय औषधि, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन् । औषधिमा आत्मनिर्भर हुने कुरा जटिल छ ।”

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यसैअनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधि खरिद गर्ने, राज्यले निःशुल्क गरेका औषधि स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषयमा छलफल गरिरहेको मन्त्री पौडेलले बताए ।

उनले स्वदेशी औषधि उत्पादन गर्न प्राथमिकताका साथ कानूनहरु बनाइ प्रवर्द्धन गर्न जरुरी रहेको बताए । मन्त्री पौडेलले सङ्घीय सरकारअन्तर्गतका अस्पतालमा औषधिको मूल्य सार्वजनिक रूपमा टाँस गर्न आग्रह गरिएको बताए ।

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमै उत्पादन हुने औषधिको आयातमा विचार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “औषधिको खरिद प्रक्रियाले औषधिको उपलब्धतामा समस्या देखापरेको छ । खरिद ऐनलाई पुनःविचार गर्न आवश्यक छ ।”

प्रकाशित मिति : मंसिर २७, २०८१ बिहिबार  ८ : ११ बजे