काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजिनक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मंसिर २७ र २८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णहरु सोमबार प्रवक्ता पृथ्वी सुव्वा गुङले एकमुष्ठमा सार्वजनिक गरेका हुन् ।
यस्ता छन् २७ गतेको बैठकका निर्णयहरु
१.महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यक्रमको लागि आ.व. २०८१/८२ मा सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी स्वीकृत गर्ने।
२.मिति २०८१ पुस २ र ३ गते थाइल्याण्डको बैंककमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तीय सहयोगसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा सहभागिताको लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।
३.काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने।
४. अर्थ मन्त्रालय सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब रू.११ अर्ब ५५ करोड ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।
५.सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव श्री पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने।
६.नेपाल न्याय सेवा, न्याय समूहका सात जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुलाई सरुवा गर्ने।
७.शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा. राजेन्द्र प्रसाद बराल, कास्की र श्री दीपक राज सापकोटा, भोजपुरलाई मनोनयन गर्ने।
८. संयुक्त राष्ट्र सङ्घीय सन्धिजनित निकायहरूमा पेश गरिने प्रतिवेदनहरूको अभिन्न अङ्गको रूपमा रहने आधारभूत साझा दस्तावेज स्वीकृत गर्ने ।
९.आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अभिसन्धिको समितिसमक्ष नेपालले पेश गर्नुपर्ने चौथो आबधिक प्रतिवेदन स्वीकृत गर्ने।










