रवि पत्नी निकिताले मागिन् सहकारीबाट ऋण लिएको प्रमाण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण पेश गर्न भनेकी छन् ।

श्रीमान प्रहरी हिरासतमा रहेको बेला विभिन्न मिडियाहरुले अनावश्यक प्रचार गरी पुरुषार्थ देखाएको टिप्पणी गर्दै उनले आफू अहिले पनि प्रमाण कुरिरहेको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्ः

आज विहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति रु अलिकति मलाई पनि देऊ न।’

मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’

बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’ को। कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र र?आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ? समाचार लेख्नेमाथि दया लागेर आउँछ।

खाता मेरो हो। यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि । श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।

प्रकाशित मिति : पुस २, २०८१ मंगलबार  १२ : ५८ बजे