पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतेको अवस्थामा खिचिएको भाइरल तस्बिर खिच्नेको पहिचान खुलेको छ।
रविकै समर्थक डा निकोलस भुसालले उक्त तस्बिर आफूले नै खिचेको तर सामाजिक सञ्जालमा राख्नु गल्ती भएको भन्दै माफी मागेका छन्।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सहकोषाध्यक्ष दीपक बोहराले उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै सरकार र नेपाल प्रहरीमाथि गम्भीर प्रश्न गरेका थिए।
सीसीटीभीको उक्त तस्बिर प्रहरीले नै कसैलाई पठाएको उनको दाबी थियो। उक्त तस्बिर कुन उद्देश्यका लागि सार्वजनिक गरियो भन्दै रास्वपाका नेताहरूले प्रश्नमाथि प्रश्न गरिरहेका थिए।
बिहीबार बिहान फेसबुक लाइभमा आएका बोहराले उक्त तस्बिर रविकै भएको र रविमाथि गम्भीर षड्यन्त्र भइरहेको जिकिर गरेका थिए भने आफूहरूले पनि यो प्रकरणमा छानबिन गर्ने बताएका थिए।
डा। निकोलस भुसाल आफैँले सो तस्बिर आफूले नै खिचेको स्वीकार गरेका छन्।
‘तस्बिर मैले नै खिचेको हो। नराख्नुपर्ने रहेछ, गल्ती भयो,’ उनले भनेका छन्, ‘रवि दाइको अवस्था राम्रो छ, चिन्ता लिनुपर्दैन भनेर सन्देश दिनका लागि राखेको, अनर्थ भयो। त्यसैले हटाएँ।’
भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा उक्त फोटो पोस्ट गरेका थिए।
कास्की प्रहरी स्रोतका अनुसार केही दिन अघि निकोलस भुसाल रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका थिए। तर, प्रहरीले रवि सुतिरहेकाले भेट्न नमिल्ने भनेको थियो।
भुसालले भेट्ने अड्डी कसेपछि उनलाई सीसीटिभीबाट रवि सुतेको अवस्था देखाइएको थियो।














