काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।
आज आईतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुविरुद्ध अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ ।
प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो।
लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
यो प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछाने पक्राउ परेका थिए।
गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो। उनीहरूविरुद्ध पूरक अभियोजन गरिएको छ।
अदालतमा मुद्दा दर्ता भएसँगै रवि ‘आरोपित’बाट ‘अभियुक्त’ बनेका छन्। कुनै पनि फौजदारी कसुरको अभियोग लागेपछि अदालतमा मुद्दा दर्ता भइसकेकेको अवस्थामा प्रतिवादीलाई ‘अभियुक्त’ भन्ने गरिन्छ।














