काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरू गरेको छ ।
अस्पतालले आज(सोमबार)देखि सुरू गरेको ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङलगायतले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए । उनले भने, ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्यूआई) को सन्तुलनमा यो विधि आधारित छ । एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिहरूले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ । त्यस्तो विधि नेपालमा पनि सुरू गरिएको छ । यसले यहाँको उपचार प्रणालीलाई पनि समृद्ध बनाउने विश्वास लिएको छु ।’
उनले सिभिल अस्पतालको स्थापना र त्यसपछि पनि हालसम्म निरन्तर सहयोग गर्दै आएकामा चीन सरकारप्रति कृतज्ञता व्यक्त गरे । अस्पताललाई अझै विस्तारित र प्रभावकारी बनाउन भविष्यमा समेत चिनियाँ सहयोग आवश्यक रहेको चर्चा गदैँ उनले निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।
उद्घाटन कार्यक्रममा चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत छेन सोङ, आर्थिक तथा वाणिज्य दूत से यू तथा नेपालको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सह–सचिव मिरा आचार्य र परराष्ट्र मन्त्रालयका उपसचिव मणिराम शर्मालगायत सहभागी थिए ।
कार्यक्रममा नेपालमा लागि चिनियाँ राजदूत छेन सोङले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाहरूका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल सरकारले २०६४ सालमा गठन आदेशमार्फत कानुनी आधार तयार गरेपछि चीन सरकारको मुख्य सहयोगमा सिभिल अस्पताल स्थापना गरिएको थियो । स्थापनापछि पनि चीन सरकारले निरन्तर सहयोग सहयोग गर्दै आइरहेको छ ।














