अखिल क्रान्तिकारीमा लाग्यो ३२ वर्षे उमेर हद, नेतृत्वका दाबेदार बाहिरिए



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ।

अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९ सय र खुला राख्ने पक्षमा ८७९ मत प्राप्त भएको छ।

मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो। उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो।

प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।

उमेर हदका लाग्दा अधिकांश नेतृत्वका दाबेदार भने बाहिरिएका छन्।

उमेर हद लागू हुँदा २२औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा। अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देवलगायत प्रतिस्पर्धाबाट बाहिरिएका छन्। यो दौडबाट संगठनका निवर्तमान महासचिव दिपेश पुन पनि बाहिरिनेछन्।

३२ वर्षे उमेर हद कायम हुँदा कोशीबाट हेमन्त राई अध्यक्षको आकांक्षी छन्। सुदन किराँती निकट उनी उपमहासचिव जनार्दन शर्मा पक्षका हुन्।

बागमतीबाट रोशन थापामगर अध्यक्षका आकांक्षी देखिएका छन्। शर्मा पक्षकै उनी निवर्तमान कमिटीमा सचिव एवम् पुल्चोक क्याम्पसका निवर्तमान स्ववियु सभापति हुन्।

नारायणकाजी श्रेष्ठ निकटका सुरजसिंह ठकुरीले केन्द्रीय अध्यक्षमा दाबी गर्ने तयारी गरेका छन्।

गण्डकीबाट केन्द्रीय अध्यक्षको दाबी गर्नेमा नारायण बडाल र सुदिन पौडेल छन्। बडाललाई शर्मा र पौडेललाई वर्षमान पुनको साथ छ।

लुम्बिनीबाट राजेन्द्र विष्ट अध्यक्षका आकांक्षी छन्। उनी पुन पक्षका हुन्।

उमेर हद लागु हुँदा कर्णालीबाट तिर्सना हमाल, योगेन्द्र बुढा अध्यक्षका आकांक्षी देखिएका छन्। हमाल पुन पक्षधर हुन् भने बुढा कृष्णबहादुर महरा निकट मानिन्छिन्।

सुदूरपश्चिमबाट पुन पक्षकी पार्वती नेगीले अध्यक्षमा दाबी गर्ने तयारी गरेकी छन्।

अखिल क्रान्तिकारीमा उमेर हद सबै तहका कमिटीमा लागू हुनेछ।

अखिल क्रान्तिकारीको विधानमा २४३ सदस्यीय केन्द्रीय समितिको व्यवस्था गरिएको छ।

पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान बनाइएको छ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : २७ बजे