लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव पक्राउ



विराटनगर । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन्। बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई पक्राउ गरेको हो।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन्।

प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकाल्दिन्छु भन्दै झन्डै ३९ लाख ठगी गर्ने अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सांसद पोखरेलले पीए पोखरेललाई निष्काशन गरेको छ।

ऋषिकेशका स्वकीय सचिव पोखरेललाई मोरङ जिल्ला अदालतले पक्राउ गर्न अनुमति दिएको हो।

मोरङ प्रहरीमा परेको जाहेरी अनुसार रंगेली नगरपालिका(२ का स्थायी बासिन्दा अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० रुपैयाँ ठगी गरेका थिए।

ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि सांसद पोखरेलले स्वकीय सचिव पोखरेलाई शुक्रबार जिम्मेवारीबाट हटाएका थिए। एमबीबीएसमा नाम निकाल्दिने भनेका पोखरेलले पैसा फिर्ता दिएनन्। उनले उल्टै ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएको आरोप छ।

आफूलाई जबर्जस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनी तमसुक बनाएपछि उनी प्रहरी कार्यालय पुगेका थिए।

९ दिनपछि हुलाकबाट पठाएको जाहेरी पनि प्रहरीले लिएन। यसपछि पोखरेलविरुद्ध बौआलालले उच्च अदालत मोरङमा जाहेरी दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित रिट निवेदन दर्ता गरेका थिए।

गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको गर्न अन्तिम आदेश दिएको थियो।

आदेशको पुस ११ गते प्रमाणीकरण भएको थियो। अदालतको आदेशको पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीको भनाइ छ।

लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालापछि उनका स्वकीय सचिवमाथि पनि ठगीको आरोप लागेको हो।

सहकारी ठगीमा फरार रहेकी अञ्जला बुधबारै अदालतमा हाजिर भएर बुधबारै रिहा भएकी थिइन्। उनी मोरङको एक विद्यालयमा शिक्षिका भएपनि पक्राउ पुर्जी जारी भएपछि विद्यालयमा हाजिर भएकी थिइनन्। बुधबार १० लाख धरौटीमा रकम बुझाएर उनी रिहा भएकी हुन्। उनीमाथि उमागौरी सहकारीको रकम अपचलन गरेको आरोप छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ११ : ४६ बजे