दुर्गा प्रसाईलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा प्रसाईंसहित ३ जनाको बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन्। आदेशसँगै दुर्गा प्रसाईं र उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन् ।

पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा अभियोग पत्र दर्ता गरेको थियो।

प्रसाईंसहित तीन जनाविरुद्ध आपराधिक लाभ र संगठित कसुरको मुद्दा दायर भएको थियो । अर्का आरोपित रामचन्द्र मैनाली भने फरार थिए ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोईका नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ८ : १७ बजे