काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन सूचकांक समेटिएको विवरण मूल्यांकनका निम्ति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छन् ।
कुलमान घिसिङले बिहीबार गत आर्थिक वर्षमा सम्पादन गरेका ९८.९९ प्रतिशत अङ्क दाबी गरी विवरण पेस गरेका हुन् ।
२०७८ साउन २५ निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो।
मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित कार्यसम्पादन सम्झौता भएको थियो।
ऊर्जा मन्त्रालयबाट आव २०७८/७९ र २०७९/८० मा गरेको कार्यकारी निर्देशक घिसिङको कार्यसम्पादनमा क्रमशः ९४।२३ र ९८।९४ प्रतिशत अङ्क प्राप्त भएको थियो। कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा प्रोत्साहन भत्ता पाउने व्यवस्था छ।
पुस २२ गते मन्त्रालयले घिसिङलाई ‘तपाईँलाई पदबाट किन नहटाउनेरु’ भन्दै स्पष्टीकरण सोधेको थियो। मन्त्रालयले कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मूल्यांकन गराउनुपर्ने व्यवस्था उलंघन भएको भन्दै सोमबार स्पष्टीकरण माग गरेको हो।
मन्त्रालयका अनुसार घिसिङले कार्यसम्पादन मूल्यांकन गराउन आवश्यक विवरण समयमै पेस नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो। कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएमा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था कार्यसम्पादन सम्झौतामा उल्लेख छ।
प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। आव २०७२र७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण २०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको थियो।
त्यसपछि प्राधिकरण निरन्तर नाफामा छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।