काठमाडौं, २८ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । मन्त्रालयले उनलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङले आइतबार उक्त स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।
स्पष्टीकरणमा कुलमानले आफूले कार्यसम्पादनमा पनि उच्च अङ्क प्राप्त गरेको र सरकारले ४ वर्षका लागि भनेर नियुक्ति गरेको भन्दै अहिले हटाउन नमिल्ने जिकिर गरेका छन् ।
‘तपाईको कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोही दफा बमोजिम तपाईको नियुक्ति किन अन्त्य नगर्ने रु’ भनी मन्त्रालयले उनलाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो ।
डेडिकेटेड ट्रंक लाइन विद्युत महशुल विवाद समाधान गर्नुको सट्टा नोट अफ डिसेन्ट लेखेको, कार्यसम्पादनसम्बन्धी विवरण नबुझाएको, मन्त्रालयले माग गरेको विवरणमा सत्यतथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ र असम्बन्धित कागजात र विवरण पठाएकोलगायतका आरोपमा कुलमानलाई स्पष्टीकरण सोधिएको थियो ।
स्पष्टीकरण चित्त नबुझे मन्त्रालयमा प्रस्ताव लगेर घिसिङलाई हटाउने मन्त्री खड्काको तयारी छ ।














