भीम रावल धनगढीमा,ओलीविरुद्ध नाराबाजी



धनगढी – धनगढी पुगेका भीम रावलको पक्षमा र नेकपा एमाले अध्यक्ष केपी ओलीको विपक्षमा नाराबाजी भएको छ।

नेकपा एमालेको कारबाहीपछि अलग्गै राजनीतिक यात्रा थालेका नेता अहिले धनगढी पुगेका छन्। रावललाई उनका समर्थकहरूले धनगढी विमानस्थलमा स्वागत गर्दै उनको पक्षमा नाराबाजी गरेका हुन्। समर्थकहरूले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मुर्दावादको नारासमेत लगाएका थिए।

यसैबीच रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बन्ने दाबी गरेका छन्। विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा नेता रावलले आफ्नो मातृभूमि जागरण अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा राखेका छन्। रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ।’

शुक्रबार बिहान नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग हवाईजहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी विमानस्थलमा पुगेका थिए रावल।

रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए।

रावललाई राजावादीहरूसँगको भेटघाटबारे पनि जिज्ञासा राखिएको थियो। जसमा उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरूसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भन्दै त्यही क्रममा विभिन्न व्यक्तिहरूसँग भेटेको र त्यो स्वाभाविक भएको बताए।

पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएको उनले त्यहाँ खुलाए।

रावल त्यहाँ कार्यक्रम सकेपछि अछाम जानेछन्।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  ११ : ५४ बजे