काठमाडौं, ९ माघ ।रास्वपाका सभापति रवि लामिछानेको बयान रूपन्देही अदालतमा सकिएको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा रविको बयान सकिएको हो । आज लामिछानेको बयान सकिएको र भोलिदेखिमात्रै थुनछेक बहस हुने बताइएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार भैरहवा पुगेका थिए ।
नारायण बहादुर पहराईसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको सो मुद्दामा रवि र रविना रिमालसमेत गरी २२ जना प्रतिवादी छन् । उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।
कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप छ ।














