प्रधानमन्त्री ओलीको स्वर खुलेन, सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’मा नजाने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज ‘ब्रेक थ्रु’ हुन लागेको सिद्धबाबा सुरुङमार्गको उद्घाटनमा नजाने भएका छन् ।

चिसोका कारण स्वर भासिएर तीन दिनदेखि बिरामी परेका ओली डाक्टरहरुको सल्लाहअनुसार बालुवाटारमै आराम गरेर बस्ने भएका छन् ।

प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्नेछन् भने यी कार्यक्रममा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिद्धबाबा क्षेत्रमा ११०० मिटर लामो सुरुङ मार्ग ब्रेक थ्रु हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम भै रहेको उनले जानकारी दिए । सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।

चिनियाँ ठेकदार कम्पनीले गरिरहेको उक्त काम सम्पन्न नजिक पुगेको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।

सुरुङ् मार्गले गुल्मी,पाल्पा, स्याङ्जा,कास्की, पर्वत लगायतका जिल्लामा सवारीसाधन आवतजावतलाई सहज हुने र सम्भावित दुर्घटनाहरुबाट बच्न सहज हुने विश्वास लिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १२ : १५ बजे