काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदमा नबस्ने उद्घोष गरेकी छिन्।
नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै भट्टराईले यस्तो बताएकी हुन्।
‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, ‘सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’
राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवनसाथी गुमाएको भन्दै उनले काम गर्न नसके प्राएको पद पनि गुमाउन पनि आफू तयार रहेको बताइन्।
प्रारम्भिक बाल विकास केन्द्र (इसिडी)देखि विश्वविद्यालयसम्म समस्या नै समस्या रहेको भन्दै उनले आफू पनि शिक्षा क्षेत्रमा रहेको समस्याको सिकार बनेको बताइन्।
शिक्षा क्षेत्रको समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको उनको दाबी थियो।
‘म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको होइन। कमाउँछु भनेर बसेको होइन। समुदायको हितमा काम गर्न सकिनँ, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु,’ उनले भनेकी थिइन्।










