काठमाडौं । भारतको राजधानी दिल्लीस्थित नई दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
रेलमन्त्री अश्विनी वैष्णवले रेलवे स्टेशनमा भागदौड भएको पुष्टि गरेका छन्। घटनामा घाइते भएका १० जनाको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।
प्रत्यक्षदर्शी के भन्छन् ?
एकजना प्रत्यक्षदर्शी मनोरञ्जन झाले बीबीसीसँग भने, म राती ९स्१५ बजे स्टेशनमा आएँ। म आउँदा रेलवे स्टेशनमा ठूलो भिड थियो। मेरी आमा पनि बल्लबल्ल बच्नु भयो। हामी बाँच्यौँ।
धेरै भिड थियो। बाहिर निस्कने ठाउँबाट मानिसहरू भित्र पसिरहेकाले भिड धेरै थियो। एउटा रेल त्यहाँबाट जानेबित्तिकै भागदौड भयो। हाम्रो अगाडि एउटी वृद्धा बेहोस भइन्।
अर्की प्रत्यक्षदर्शी रुबी देवीले भनिन्, ‘हामी प्लेटफर्म नम्बर १३ मा थियौँ। यति धेरै भिड थियो कि हामी भित्र जान सकेनौँ। त्यहाँ धेरै मानिस थिए। हामी बच्यौँ। त्यहाँ भागदौड भएको थियो।’
अर्का एक प्रत्यक्षदर्शीले भने, ‘प्रहरीले नियन्त्रण गर्न खोजिरहेका थिए तर तर भिड धेरै ठूलो थियो।’
काजल नामकी अर्की प्रत्यक्षदर्शीले भनिन्, ‘ठूलो भिड थियो। सबैले एकअर्कालाई धकेल्दै थिए। हामी प्लेटफर्म नम्बर १३ मा थियौँ। धेरै मानिसहरू हाम्रो अगाडि खसे। उनीहरूलाई धकेलिएको थियो। त्यहाँ हल्ला भइरहेको थियो।’ बीबीसिबाट














