उर्जामन्त्री खड्काले कुलमानलाई फेरी सोधे स्पष्टीकरण



काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् ।

यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले कुलमानलाई पुनः स्पष्टीकरण सोधेका हुन् ।

मन्त्रालयका सचिव सुरेश आचार्यले गत १२ फेब्रुअरीमा भारत जाँदा मन्त्रालयको स्वीकृति नमागेको विषयलगायतलाई लिएर स्पष्टीकरण सोधेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पुस २२ गते किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो। सचिव आचार्यले त्यसबेला पनि कुलमानलाई किन नहटाउने भन्नेसहित ९ बुँदामा स्पष्टीकरण माग गर्दै पत्राचार गरेका थिए।

स्पष्टीकरणको जवाफमा पुस २८ गते कुलमानले आफूलाई मन्त्रिपरिषद्ले ४ वर्षका लागि नियुक्ति दिएको र अन्य निकायले नियुक्तिको अन्त्य गर्न नसक्ने जवाफ दिएका थिए। त्यसअघि गत असोज २२ गते मन्त्रालयले ट्रान्सफर्मर खरिदलगायत विभिन्न १५ बुँदामा स्पष्टीकरण मागेको थियो।

प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार  ७ : ५७ बजे