रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अघिल्लो साता नेपालबाट गएका थापा अमेरिका अवतरण गरेपछि पेन्सिल्भेनिया विमानस्थल क्षेत्रबाट नै पक्राउ परेका हुन्।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवा न्युयोर्क गएका बेला आयोजना गरिएको स्वागत कार्यक्रममा कालो झण्डा र जुत्ताको माला देखाउन थापाले फेसबुकबाट आह्वान गरेका थिए।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको थियो। उक्त कार्यक्रम २२ सेप्टेम्बर २०२४ मा आयोजना गर्ने भनिएको थियो।

पक्राउ परेका थापा रास्वपा सभापति रवि लामिछानेसँग अतिनिकट मानिन्छन्।

थापा पक्राउ पर्नुको कारण नखुलेपनि उनलाई फिलाडेल्फियास्थित हिरासतमा राखिएको छ। अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार थापा बाल्टिमोरस्थित नेपालीको संस्था (बाना)का पूर्वअध्यक्ष समेत रहेका थापा पक्राउबारे साताअघि नै जानकारी दिइएको थियो।

थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए। त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो। उनी यतिबेला ग्रीन कार्डमा छन्।

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार  ४ : ४१ बजे