काठमाडौं । जिल्ला अदालत रूपन्देहीको आदेश बदर गरी पाऊँ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दिएका छन्।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रूपन्देहीमा दर्ता भएको मुद्दाको बहसपछि गत माघ १३ गते जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो। सोही आदेश बमोजिम माघ १३ गते साँझ नै लामिछानेले एक करोड रुपैयाँ धरौटी बुझाएका थिए।
जिल्ला अदालतमा धरौटी बुझाएको डेढ महिनापछि सोमबार बिहान लामिछानेले जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्दै पुनरावेदन निवेदन दिएका हुन्।














