अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ चर्किँदा विश्वको अर्थतन्त्रमा कस्तो असर पर्ला ?



काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानको आयातमा बुधवार ९ एप्रिलदेखि १०० प्रतिशतभन्दा बढी कर लगाउने चेतावनी दिएसँगै दुई देशबीच पूर्ण स्तरको ‘व्यापार युद्ध’ हुने सम्भावना देखिएको छ।

चीनले अमेरिकासँग नझुक्ने र ‘अन्तिमसम्म लड्ने’ बताएको छ। अमेरिकी निर्णयको जबाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ।

यो, व्यापार युद्धु चर्किँदा विश्वको अर्थतन्त्रमा कस्तो असर पर्ला ?

अमेरिका र चीनबीच विश्वका शीर्षस्थ अर्थतन्त्र हुन्। गत वर्ष करिब ती दुई देशबीच ५८५ अर्ब अमेरिकी डलरको सामान व्यापार भएको थियो।

अमेरिकाले चीनबाट धेरै आयात गरेको थियो। अमेरिकाले ४४० अर्ब अमेरिकी डलरको आयात गर्दा चीनले अमेरिकाबाट केबल १४५ अर्ब अमेरिकी डलरको सामान मात्रै आयात गरेको थियो।

ट्रम्पले आफू पहिलो पटक राष्ट्रपति हुँदा पनि चीनबाट हुने आयातमा उल्लेखनीय कर लगाएका थिए। उनका उत्तराधिकारी जो बाइडनले पनि त्यो कर हटाएनन् बरु अझै बढाए।

ती दुवै ‘व्यापार अवरोध’ले अमेरिकामा चीनबाट हुने आयात कम गर्न सघाए। परिणामस्वरूप सन् २०१६ मा कुल अमेरिकी आयातको १६ प्रतिशत हिस्सा ओगटेको चिनियाँ आयात गत वर्ष १३ प्रतिशतमा सीमित रह्यो।

अनि व्यापारमा चीनसँगको अमेरिकी परनिर्भरता पनि विगत दशकमा घटेको छ।

यद्यपि कतिपय विश्लेषकहरूले अमेरिकामा हुने चिनियाँ निर्यात दक्षिणपूर्वी एशियाली देशहरूबाट हुन थालेको औँल्याएका छन्।

सन् २०१८ मा ट्रम्प प्रशासनले चीनबाट आयात हुने सौर्य ऊर्जाका प्यानलहरूमा ३० प्रतिशत कर लगायो।

तर अमेरिकी कर छल्न चिनियाँ सौर्य प्यानल निर्माता कम्पनीहरू मलेशिया, थाईल्यान्ड, क्याम्बोडिया र भियतनाममा आफ्ना जडान कारखाना स्थानान्तरण गरेका र त्यहाँबाट तयारी सामान अमेरिका पठाएको प्रमाण अमेरिकी वाणिज्य मन्त्रालयले सन् २०२३ मा पेस गर्‍यो।

अहिले ती देशहरूमा पनि बराबर कर लगाइएका कारण अन्ततः चीनमा उत्पादन हुने व्यापक सामानहरूको मूल्य अमेरिकामा महँगो पर्न सक्छ।

अमेरिका र चीनले एकअर्काबाट के आयात गर्छन् ?

सन् २०२४ मा अमेरिकाबाट चीन निर्यात भएको सबैभन्दा ठूलो परिमाण भटमास थियो। विशेष गरी आफ्नो देशमा पालिएका अनुमानित ४४ करोड बङ्गुरलाई खुवाउन चीनले अमेरिकाबाट भटमास आयात गर्छ।

अमेरिकाले औषधि र पेट्रोलियम पदार्थ पनि चीनमा निर्यात गरेको छ।अर्कोतर्फ चीनबाट अमेरिका निर्यात हुनेमा सामग्रीमा सबैभन्दा ठूलो परिमाण विद्युतीय उपकरण, कम्प्युटर र खेलौनाहरू छन्। विद्युतीय सवारीसाधनका लागि अत्यावश्यक ब्याटरीहरू पनि ठूलो मात्रामा चीनबाट अमेरिका निर्यात भएका छन्।

अमेरिकाले चीनबाट सबैभन्दा ठूलो परिमाणमा आयात गर्ने सामान स्मार्टफोन हो। यसले कुल आयातको ९ प्रतिशत भाग ओगटेको छ। अमेरिकी बहुराष्ट्रिय कम्पनी एपलका ठूलो मात्रामा स्मार्टफोनहरू चीनमा तयार हुन्छन्। बीबीसिबाट

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  २ : ०६ बजे