काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सोमबार पनि स्थगित भएको छ।
सोमवार हेर्न नमिल्नेमा परेको भन्दै सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ।
आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले उनको रिट हेर्न नमिल्नेमा राखेको थियो।
सोमवार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा रवि रिटको सुनुवाइ हुने भनिएको थियो। तर पेसी फेरि पनि हेर्न नमिल्नेमा राखिएपछि सुनुवाइ स्थगित भएको छ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय, रुपन्देही जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ, कारागार कार्यालय रुपन्देही सिद्धार्थनगर रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई यो मुद्दामा विपक्षी बनाइएको छ।
यो रिट पटकपटक हेर्न नमिल्नेमा पर्दै आएको छ।
२०८२ वैशाख ७ गते रवि लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको यो रिट २०८२ वैशाख ८ गते हरिप्रसाद फुयालको इजलासमा परेको यो मुद्दा पहिलो पटक हेर्न नमिल्नेमा परेको थियो।
२०८२ वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले कारणदेखाउ आदेश गरेको थियो।
२०८२ वैशाख २८ गते सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको मुद्दा फेरि पनि हेर्न नमिल्नेमा पर्न गयो।
२०८२ वैशाख ३० गते हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले पनि हेर्न नमिल्ने मा यो मुद्दालाई राखेको छ।
यस्तै २०८२ वैशाख ३१ गते नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासले फेरि हेर्न नमिल्नमा राख्यो ।
२०८२ जेठ ४ गते डा मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा परेको यो मुद्दा फेरि हेर्न नमिल्नेमा राखियो।
०८२ जेठ ५ गते प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासमा परेको यो रिटको सुनुवाइ हेर्न नमिल्ने भएपछि पुन स्थगन भएको छ।









