काठमाडौं । यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट करिब २० लाख नेपाली प्रभावित हुने अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ पारित गर्दै यस वर्षको मनसुन ऋतुमा ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरेको हो।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा ६५ प्रतिशतसम्म बढी वर्षा हुने आकलन गरेको छ।
विशेषतः लुम्बिनी प्रदेशको उत्तर, कर्णाली प्रदेश र गण्डकी प्रदेशका अधिकांश भागमा सरदरभन्दा ५५ देखि ६५ प्रतिशतसम्म बढी वर्षाको आकलन गरिएको छ। त्यस्तै यस वर्ष सरदरभन्दा बढी तापक्रम हुने पनि अनुमान गरिएको छ।









