बाढीले बगायो डाइभर्सन, पूर्वपश्चिम राजमार्ग ठप्प



काठमाडौँ । बाढीले सडक कटान गर्दा नवलपरासी पूर्व र नवलपरासी पश्चिममा सवारी आवागमन अवरुद्ध भएको छ। गए रातिदेखिको वर्षाको कारण विभिन्न नदीमा बाढी आउँदा दुवै जिल्लामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पूर्व नवलपरासीमा सडक पूर्णरुपमा बन्द रहेको नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी, चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक ‘डाइभर्सन’ गएराति बाढीले बगाएपछि राजमार्ग ठप्प भएको हो। चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सन बनाइएको थियो। उक्त डाइभर्सनलाई बाढीले बगाइदिएको हो।

चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएका थिए।

त्रिवेणी खोलामा गएराति आएको बाढीले तरकारी बोकेको लु ३ च ८४९३ नम्बरको पिकअप भ्यान बगाएको छ। गाडी बाढीले बगाएपछि चालकले फाल हानेर ज्यान जोगाएका थिए।

बाढीले सडक अवरुद्ध हुँदा दुवै जिल्लामा गरेर हजारौँ यात्रु राजमार्गमा अलपत्र परेका छन्। पूर्व र पश्चिमका छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाट क्षेत्रमा रोकिएका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार  १० : ३८ बजे