शेखर कोइरालाको प्रश्न :मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजान मिल्छ ?



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।

शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भएपनि सत्तामा नभएका सबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताए । कोइरालाले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर के भन्न खोजेको भन्दै प्रश्न गरे ।

वक्तव्य दिएकै भोलिपल्ट राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओली बहाना बनाएर नगएको कोइरालाको भनाइ छ । प्रधानमन्त्रीले यसरी बोल्नु हुँदैन भन्नुभयो । भोलिपल्ट १४ गतेको दिन प्रधानमन्त्रीजी त्यहाँ जानुपर्ने थियो,’ कोइरालाले भने, ‘उहाँले वार्षिकोत्सवमा बहाना बनाएर जानु भएन । प्रधानमन्त्रीज्यूलाई फुर्सद भएन भनियो । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छौं रु’

त्यस्तै उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको धारणा राखे ।

उनले भने,‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन । हामी सरकारमा छौं तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ । मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ ।’

गलतलाई गलत भन्नै नसक्ने हो भने बीपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ । उनले भने,‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ । तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाँही अत्यन्तै कमजोर छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । तर गलत गरेको छ भने गलत भन्नैपर्छ । भन्न नसक्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौं । हामी कांग्रेसका कार्यकर्ता हुँदैनौं । म यहाँ कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्तै पीडा भएर बोल्दैछु ।’

नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको भन्दै उनले वर्तमान अवस्थाबाट निराश बनेको बताए ।

प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार  ६ : ५४ बजे