काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ।
विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो।
अर्ध मूच्र्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। दीपेन्द्र अर्धमुर्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो। दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो।
तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो। छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन्।
पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ। यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ।
दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारका सदस्यहरुको सम्झनामा हिमानी ट्रस्टले काठमाडौँमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको छ। नारायणहिटी दरवार परिसरमा सरकारले निषेध आदेश लागू गरेकाले त्यहाँभित्रको मन्दिरमा गर्ने भनिएको दीप प्रज्ववल कमलादी गणेश मन्दिरमा सारिएको छ।
दीप प्रज्ववलन कार्यक्रममा काठमाडौंमा उपलब्ध राजपरिवारका सबै सदस्यहरू उपस्थित हुने कार्यक्रम छ।
काठमाडौंमै रहेका पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीले दीप प्रज्वलनमा भाग लिने छन्। पारस–हिमानी पुत्र पूर्वनवयुवराज हृदयेन्द्र पनि दीप प्रज्वलनमा सरिक हुने कार्यक्रम छ। पूर्वअधिराजकुमारी प्रेरणा, तथा पूर्वराजाका बहिनी, ज्वाईंहरु पनि जाने तयारी छ। पूर्वराजदम्पती ज्ञानेन्द्र र कोमल भने झापामा भएका कारण कार्यक्रममा सहभागी नहुने बताइएको छ।









