काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीबाट ८ करोड ७७ लाख बढी मूल्यको धनमाल जलेर नष्ट भएको प्रारम्भिक मूल्याकंन गरिएको छ ।
नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएपछि सुरु भएको आगोले बजार क्षेत्रका ३५ वटा पसलहरू जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आगजनीको घटनापछि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे शनिबार बिहान बाम्का बजार पुगेर घटनास्थलको निरीक्षण गरेका छन्।
काठमाडौँबाट विशेष टोलीसहित प्रस्थान गरेका मन्त्री पाण्डेले आगलागीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै जलेर नष्ट भएका पसल, घर र संरचनाहरूको जानकारी लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले आगलागीबाट ३५ वटा पसल पूर्णरूपमा क्षतिग्रस्त भएको पुष्टि गर्दै प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किराना पसलमा करिब १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन् ।










