राजावादी आन्दोलनले जलाएको जडिबुटी कम्पनीले थाल्यो उत्पादन



काठमाडौँ । चैत्र १५ गते राजावादी आन्दोलनले आगजनी गरेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले पुनः उत्पादन थालेको छ। आगलागीका कारण उत्पादन भवन पूर्णरूपमा प्रयोगविहीन बनेको थियो।

कम्पनीका निमित्त महाप्रबन्धक उषा रिजालका अनुसार सो घटनापछि कम्पनीका सबैजसो काम लगभग एक महिनासम्म पूर्णरूपमा ठप्प भएका थिए। उत्पादनको प्रक्रिया सुरु गर्न दुई महिनाभन्दा बढी समय लागेको छ।

कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजार व्यवस्थापनको काम गर्दै आएको छ। यसमध्ये खेती तथा प्रशोधन शाखाबाट हुने कामहरू बाहिरी शाखाबाट सम्भव भए पनि बजारीकरण तथा अन्य व्यवस्थापन कार्य केन्द्रीय कार्यालयबाट हुने भएकाले काममा पूर्ण अवरोध आएको रिजालले बताइन्।

रिजालका अनुसार वन तथा वातावरण मन्त्रालयको सहजीकरणमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनको मर्मतमा सहयोग पुर्‍याएको थियो। साथै, उत्पादन भवनमा कम क्षति पुगेको एक कोठा सफा गरी अस्थायी रूपमा त्यहीँबाट उत्पादन पुनः सुरु गरिएको हो।

अघिसम्म मेशिन प्रयोग गरेर उत्पादन हुँदै आएको भए पनि मेसिनहरू पूर्ण रूपमा जलेपछि हाल सम्पूर्ण प्रक्रिया कर्मचारीकै हातले गरिँदै आएको छ। यसले गर्दा कम्पनी अझै पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। अहिले कम्पनीबाट ५० देखि ६० प्रतिशत उत्पादन मात्रै भइरहेको छ, रिजालले जानकारी दिइन्।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार  ११ : ४२ बजे