विनयी खोलामा बाढी, डाइभर्सन बगाउँदा बस अलपत्र — यात्रु सकुशल उद्धार



काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डमा बाढीका कारण फेरि आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।

प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन सहित काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको हो । तर, बस धेरै नबगेको र सबै यात्रुको सकुशल उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दाउन्ने र दुम्कीबास क्षेत्र आसपास वर्षा भएपछि सडक हिलो र चिप्लो हुने समस्या देखिन थालेपछि प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

पूर्वबाट पश्चिम गइरहेका सवारी साधनलाई नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग र काठमाडौंबाट पश्चिम गइरहेका गाडीलाई मुग्लिन–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

त्यस्तै, पश्चिमबाट पूर्व आउने गाडीले बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन मार्ग र साना सवारीसाधनले अवस्था हेरी कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–पिपलडाँडा सडकको प्रयोग गर्न सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार  १० : ०६ बजे