लागुऔषध नियन्त्रणका लागि नयाँ विभाग स्थापना गर्ने गृहमन्त्री लेखकको घोषणा



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरे ।

उनले भने,‘गृह मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसारपसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरतापूर्वक र प्राथमिकतामा राखेको छ । हामी लागूऔषधलाई नियन्त्रण गर्नको लागि बेग्लै विभागको स्थापना गर्ने छौं । म यो घोषणा गर्न चाहान्छु । आउने नयाँ आर्थिक वर्षमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने छ ।’

उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको भन्दै सबैभन्दा पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक रहेको बताए ।

उनले भने,‘लागूऔषधको दुरुपयोगले समाजलाई भयावह ढंगले नकारात्मक रुपले प्रभावित पारेको छ । र यस्को विस्तार एकदमै धेरै बढिराखेको छ । त्यसैले पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउन आवश्यक छ । यस्तो चेतना विद्यालय–विद्यालयमा पुग्न जरुरी छ ।’

देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठुलो संख्यामा लागुऔषधको दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरू रहेको पनि उनले बताए ।

प्रकाशित मिति : असार १२, २०८२ बिहीबार  ११ : ३२ बजे