मोहन बस्नेतलाई गगन थापाको जवाफ : फोहोर चलाएर फोहोरी बन्दिनँ



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् । थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ।’

उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने बताउँदै भनेका छन्, ‘बाले भन्नु हुन्थ्यो, कसैले आरोप लगाए जवाफ दिइहाल्नु पर्छ। आमाले भन्नु हुन्थ्यो, फोहोर नचलाउनु, फोहोर चलाए आफै फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु ।’

थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे । उनले भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे । त्यो नैतिक पतन हो ।’
आजकै बैठकमा केन्द्रीय सदस्य वस्नेतले महामन्त्री गगनले आफूमाथि अख्तियार लगाएको भन्दै धम्कीपूर्ण भाषामा आफ्नो मत राखेका थिए। टेरामक्स प्रकरणमा मुछिँएका बस्नेत धरौटीमा छुटेका पात्र हुन्।

प्रकाशित मिति : असार १८, २०८२ बुधबार  ७ : ४८ बजे