रसुवामा बाढीले ठूलो क्षति, गृहमन्त्री लेखकद्वारा आकस्मिक सुरक्षा समितिको बैठक आह्वान



काठमाडौँ । चीनतर्फ परेको अविरल वर्षापछि नेपालमा आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।

रसुवा बाढीको क्षति, उद्धार, राहतको योजना तय गर्न गृहमन्त्री लेखकले केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाएका हुन्।

मंगलबार (आज) दिउँसो १ बजे गृह मन्त्रालयमा बैठक बस्दैछ।

रसुवामा बाढीले भन्सार परिसरमा रहेका एक सयबढी मालवहाक गाडी बगाएको, १८ जना सम्पर्कविहीन भएका छन्।

बाढीपछि गृहमन्त्रालयले उद्धार, राहत र प्रभावितलाई सुरक्षित स्थानमा सार्नेसमेतका काम गर्न बैठक बोलाइएको हो।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री लेखकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न गएका थिए।

देउवाको साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि थिए।

ओलीसँग भेट गरी निस्किएपछि लेखकले सुरक्षा समितिको बैठक बोलाएका हुन्।

प्रकाशित मिति : असार २४, २०८२ मंगलबार  १२ : ५९ बजे