काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मन्त्रीको घुस डिलको अडियोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् । बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी यस बारे जवाफ दिनुपर्ने बताए ।
“मन्त्रीहरूको बारेमा आएका कुरा के हुन् रु जनताले थाहा पाउने गरी सम्माननीय प्रधानमन्त्रीले जवाफ दिन माग गर्दछु,” उनले भने ।
बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो । अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’
उनले प्रधानमन्त्रीकै भनाइ उद्धृत गर्दै भने, ‘दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, हामी भ्रष्टाचार गर्दैनौं — यो प्रधानमन्त्री ज्यूको भनाइ हो । तर अहिलेको व्यवहार त्यस्तो देखिँदैन ।’पौडेलले लोकतन्त्र, सुशासन, र नैतिकताको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाए । भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ ? लोकतन्त्रको इमानदार शासन प्रणाली कहाँ छ ? नैतिक मानव, मूल्य र मान्यताको प्रतिबद्धता कहाँ छ ? भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाए। अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोगको अवस्था के भएको हो भन्ने प्रश्न उठाउँदै सरकारमाथि गम्भीर प्रश्न खडा गरे । ‘कता छ प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनता र देशले त्यसलाई खोजिरहेको छ,’ उनले भने ।
लिङ्देनले पछिल्ला दिनमा मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विवरण सार्वजनिक भइरहेपनि कुनै नैतिक जवाफदेहिता नदेखिएको भन्दै असन्तुष्टि जनाए ।‘यदि नैतिकता छ भने, यदि सुशासनप्रति अलिकति पनि प्रतिवद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरे ।
तेस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले मानव तस्करीको घटनालाई लिएर सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाए । बैठकमा बोल्दै चौधरीले मानव तस्करीको विषय संसदमा ४७ दिनदेखि उठाइएको भए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै आक्रोश पोखे ।









