काठमाडौँ । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा भएको छ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो। नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन्।
दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिने त्यतिबेलै सहमति भएको थियो। सोहीअनुसार आज सभागृहमा एकता घोषणा भएको हो।
गौतम, अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्। एमालेले वेवस्ता गरेपछि नेता गौतम नेकपा एससँग एकता गर्न पुगेका हुन्।
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले चार वर्षदेखिको प्रयासपछि नेकपा एकीकृत समाजवादी सँग पार्टी एकता सफल भएको बताएका छन्।
शुक्रबार एकता घोषणा कार्यक्रममा बोल्दै गौतमले चार वर्षदेखि प्रयास सफल भएकामा अत्यन्त खुसी लागेको बताए। ’अलि अलि पनि होइन। ज्यादै धेरै व्यक्त गर्न सक्दिनँ,’ उनले भने।
उनले एकीकृत समाजवादीको कार्यालय र आफ्नो पार्टीको कार्यालयबाट धेरै टाढा नभए पनि त्यहाँ पुग्न चार वर्ष लागेको बताए।
‘मेरो पार्टी अफिस सैँबु आवासक्षेत्रमा छ। धेरै टाढा होइन। त्यहाँबाट एकीकृत समाजवादीको कार्यालयसम्म आइपुग्न चार वर्ष लाग्यो। चार वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौं,’ उनले भने।
नेता गौतमले आफू एक्लै नभएर नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको समेत बताएका छन्। ‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइनँ। त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’









