पूर्वराष्ट्रपति राजनीतिमा फर्कनु गम्भीर विषय, पार्टीले उचित निष्कर्ष निकाल्छ : ओली



काठमाडौं । काठमाडौं । नेकपा एमालेको आज बसेको पोलिटब्युरो बैठकमा समसामयिक राजनीतिक परिस्थितीसँगै पार्टीको विधायन अधिवेशनको तयारीको सन्र्दभमा छलफल भएको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधायनको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरुको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएको नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

‘अहिलेको विकसित राजनीतिक घटनाक्रमका विषयमा सरकारका बारेमा उहाँले आफ्ना महत्वपूर्ण भनाईहरु राख्नुभयो । मूलत अहिलेको हाम्रो मुख्य काम विधायन अधिवेशनको काम हो ।’ उनले भने ।


उनका अनुसार बैठकमा पोलिटब्युरो सदस्यहरुले आफ्ना धारणा राख्नेक्रम जारी रहेको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको दाबि गरेको बताइएको छ । ओलीले यो विषयमा उचित निष्कर्ष पार्टीले निकाल्ने जानकारी दिए।

‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको व्यक्ति, यो देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक बनिसकेको व्यक्ति आएर राजनीतिमा प्रवेश गर्ने कुरा एउटा गम्भीर विषय हो’ बैठकमा ओलीले भनेका छन्, ‘यसमा उचित समयमा निष्कर्ष निकाल्छ, निर्णय लिन्छ।’

प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार  ८ : ०१ बजे