मन्त्री फेरबदलबारे छलफल गर्न २ दलका शीर्ष नेता बालुवाटारमा




काठमाडौँ- 
 प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार ठूला दुई दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीति, मन्त्रीपरिषद् हेरफेरबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

विवादित मन्त्रीहरू हटाउने, केही मन्त्रीहरूको मन्त्रालय परिवर्तन गर्ने विषयमा ओलीले देउवासँग कुराकानी गरेको बताइएको छ।

देउवा भने अहिल्यै आफ्नो दलबाट गएका मन्त्रीहरूलाई हटाउने पक्षमा छैनन्। एमालेका मात्र मन्त्रीहरू हटाउँदा आफूलाई पार्टीमा दबाब पर्ने भएकाले ओलीले कांग्रेसका पनि मन्त्री फेर्न वातावरण बनाउन देउवासँग कुराकानी गरेको बताइएको छ।

एमालेबाट रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना छ।

राई र भण्डारीको ‘पर्फर्मेन्स’सँग ओली सन्तुष्ट छैनन्। घुस डिलमा मुछिएका अधिकारीको सार्वजनिक भएपछि उनी पनि विवादित छन्। बिचौलियालाई जग्गा दिएर घुस लिन संवाद गरेको अडियो बाहिरिएपछि यसअघि नै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार ३१ गते राजीनामा दिएका थिए। यही प्रकरणमा अधिकारी पनि मुछिएका हुन्।

अधिकारीले ३२ लाख रूपैयाँ बिचौलियामार्फत बुझेको दाबीसहितको अडिओ सार्वजनिक हुँदा पनि आफ्नो राजीनामाको मागलाई छोपछाप पार्ने प्रयत्नमा छन्।

प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार  १२ : ३९ बजे