कोदो उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न प्रधानमन्त्री ओलिको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको परम्परागत खाद्यान्न बाली कोदोको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाउने निर्णय गरिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोदो केवल परम्परागत बाली मात्र नभई पोषणीय दृष्टिले अति महत्त्वपूर्ण अन्न भएको उल्लेख गरे। उनले भने, “ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले कोदोले रक्तमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ, साथै यसमा रहेको फाइबरले हृदय स्वास्थ्यलाई मजबुत बनाउन मद्दत गर्दछ।”

उनका अनुसार सिँचाइको विशेष आवश्यकता नपर्ने र विषम भू–भागमा पनि उत्पादन गर्न सकिने भएकाले कोदो जलवायु–अनुकूल र पोषिलो खाद्यान्न मानिन्छ।

प्रधानमन्त्रीले कोदो उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न समेत आह्वान गरेका छन् ।

प्रकाशित मिति : श्रावण १६, २०८२ शुक्रबार  ११ : ३७ बजे