दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

१५ चैतमा भएको राजावादी आन्दोलनपछि थुनामा रहेका प्रसाईंलाई उच्च अदालतका न्यायाधीयशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

‘निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईंबाट रु. २५,००,०००। (अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला, आदेशमा भनिएको छ ।

प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार  ८ : १७ बजे