०८३ भित्रै काठमाडौं-तराई-मधेस द्रुतमार्गको काम सकिन्छ जस्तो लाग्दैनः रक्षामन्त्री



काठमाडौं । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराई/मधेस द्रुतमार्गको काम सकिनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीवार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताए ।

उनले ०८३ सम्म बन्छ भन्ने विश्वास नलागेको तर मेलम्चीको जस्तो लामो समय नलाग्ने बताए ।

सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको पनि बताए । अन्य देशहरुमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने तर नेपालमा व्यक्तिको नाममा जमिन हुँदा विभिन्न अवरोधहरु हुने गरेको उल्लेख गरे ।

मन्त्री राईले भने, ‘फास्ट ट्रयाकमा हामी केन्द्रित छौँ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बन्दैछ । नेपालको जमिन व्यक्तिको नाममा दर्ता छ । छिमेकी देश चीन लगायतमा जमिनहरु सरकारी हुन्छन्, निजी हुँदैनन् । डिजाइन गर्न अफ्ठ्यारा हुँदो रहेनछ । तर काम गर्दै जाँदा सकिँदो रहेछ । बाटो राम्रो हुँदो रहेछ, सुरुङ मार्ग बन्दा रहेछन् भन्ने प्रमाणित भइसकेको छ । जमिन र जंगल समस्या हो । जंगलको कानून मन्त्रीपरिषद्ले समेत क्रस गर्न सक्दो रहेनछ । हामीले सच्यायौँ । त्यसबेला ठूला पार्टीले जंगल पनि बेचेर खाने भए भन्ने आरोप खेप्नुप¥यो । तर त्यो झन्झटबाट मुक्त भयौँ । ०८३ साल नआइकन सकिँदैन भन्न त नमिल्ला, निकै कठिन भएको छ । तर म यति भन्न चाहन्छु, मेलम्चीको आयोजना जति लम्बिँदैन । यति धेरै लामो समय लाग्दैन ।’

मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढंगले अघि बढिरहेको बताए । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार  २ : ३३ बजे