राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दा बढी मेगावाटका आयोजनाहरु समस्यमाः अध्यक्ष कार्की



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले राष्ट्रिय निकुञ्जको समस्याका कारण १७ हजार भन्दा बढी मेगावाटका आयोजनाहरु समस्यमा परेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हून् ।

उनले राष्ट्रिय निकुञ्जका कारण विद्युत क्षेत्रमा धरै समस्या आइरहेको बताए । संसदले बनाएको ऐनअनुसार निजी क्षेत्रले लगानी गरेको तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर रद्ध गरिदिएको भन्दै वन क्षेत्रमा बन्न लागेका १७ हजार भन्दा बढी मेगावाटका योजनाहरु समस्यमा परेको बताए ।

उक्त आयोजनाका लागि झन्डै दुई खर्ब भन्दा बढी लगानी भइसकेको भन्दै राजनीतिक दलहरुले एउटा निष्कर्ष निकाल्नुपर्ने बताए ।

उनले भने, ‘नयाँ नयाँ बखेडा निकाल्दै जाने हो भने नेपालका निजी क्षेत्रले नेपालमा लगानी गर्न सक्दैनन् । अहिले साँच्चै नै हामी समस्यामा छौँ । राष्ट्रिय निकुञ्जका कुराले धेरै समस्या छ । नेपालको संसदले एउटा ऐन बनायो, निजी क्षेत्रहरु अघि बढे तर सर्वोच्च अदालतले ऐन बाझियो भनेर क्यान्सिल गरेको छ । सात, आठ महिना भइसक्यो, हामी वनमा छिर्न पाएको छैन । १७ हजार भन्दा बढी मेगावाटका योजनाहरु समस्यमा परेका छन् । हामी अन्योलमा छौँ । झन्डै दुई खर्ब भन्दा बढी लगानी भएको छ । त्यसमा के गरिदिने हो, राजनीतिक स्तरमा छलफल गरे अघि बढाउनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु ।’

अध्यक्ष कार्कीले विद्युत ऐन नेपाली जनताले लगानी गर्ने किसिमको आउनुपर्ने बताए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : भाद्र ११, २०८२ बुधबार  ३ : ४१ बजे