काठमाडौँ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरू क्रमश बन्द हुन थालेका छन् । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न सरकारको निर्देशनपछि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले धमाधम निष्क्रिय पार्दै गएका छन् ।
नेपाल टेलिकम र एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्र प्राप्त गरेपछि हिजै सामाजिक सञ्जालहरू निष्क्रिय पारेको सुचना सार्बजनिक गरेका थिए ।
आजबाट वर्ल्डलिंकको आईपी एड्रेसबाट पनि फेसबुक चल्न छाडेको छ । वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सरकारको निर्देशन अनुसार फेसबुक बन्द गरेको जानकारी दिए ।
सामाजिक संजाल एकैपटक बन्द गर्न नसकिने भएकाले बिस्तारै बन्द गरिने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले जनाएका छन् । हाल मोबाईल लगायतका केहि डिभाइसमा चलिरहेको भए पनि आज बेलुकि सम्म मोबाईल लगायतका सबै डिभाइसमा सामाजिक सञ्जालहरू निष्क्रिय हुने इन्टरनेट सेवा प्रदायकहरूले जनाएका छन् ।
प्राधिकरणले बिहीबार विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउनका लागि पत्र पठाएको थियो । यसमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका प्लेटफर्महरू समावेश छन् । हाम्रोपात्रोसमेत २६ भित्र अटे पनि उसले बिहीबारै दर्ता प्रक्रिया थालेकाले हाम्रो पात्रो बन्द हुने छैन ।
केहि सामाजिक संजालहरु सरकारको सम्पर्कमा आउन थालेको भनिए पनि औचारिक रुपमा मन्त्रालयमा आएर निवेदन नदिएसम्म निष्क्रिय हुने सरकारको भनाइ छ ।









