विराटनगर किङ्सद्वारा भदौ २१ गते विराटनगरमा रोमाञ्चक सांगीतिक कार्यक्रम आयोजना हुने



काठमाडौँ । नेपाल एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा यहिभाद्र २१ गते शनिबार एक रोमाञ्चक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

यस कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ-आफ्नो प्रस्तुति मार्फत साँझलाई थप रोमान्चक बनाउने अपेक्षा गरिएको छ।

साँझ ४.३० बजे सुरु हुने कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति रु. २०० तोकिएको छ। तर, विराटनगर किङ्सको जर्सी लगाएका दर्शकलाई भने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश प्रदान गरिनेछ ।

टिमले यस पहलमार्फत आफ्ना समर्थकहरूप्रति आभार व्यक्त गर्दै ‘कोशीको गौरव, हाम्रो पहिचानू भन्ने मूल मन्त्रमा सबैलाई एकताबद्ध गर्ने लक्ष्य राखेको जनाएको छ।

कार्यक्रमबारे बोल्दै विराटनगर किङ्सका मालिकहरूमध्ये एक वेङ्कटेश मुन्द्राले भने, “विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्धगराउँदै आएको छ। अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौं। यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशीको उत्साहलाई अझ प्रबल बनाउन आयोजना गरिएको हो।”

नेपाल क्रिकेट संघ (क्यान) का अनुसारआगामीनेपाल प्रिमियर लिग(एनपीएल)मा आठ टोली सहभागी हुनेछन् र प्रतियोगिता मङ्सिरदेखि सुरु हुने तय भएको छ।

प्रकाशित मिति : भाद्र २०, २०८२ शुक्रबार  १० : ४२ बजे