खुले हल, फूलपातीमा चार नेपाली फिल्म रिलिज हुने



काठमाडौँ । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुलेका छन्। आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रूपमा सञ्चालन हुनेछन्। जेनजीले भ्रष्टाचार र बेथितिविरुद्ध २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको छ।

महर्जनले रात्रिकालीन शोलाई सञ्चालन गर्ने भए पनि राति १० बजेभित्र हल बन्द गर्ने व्यवस्था गरिएको बताए। सोमबारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली चलचित्रसँगै केही विदेशी चलचित्र पनि प्रदर्शन हुनेछन्।

यसैबीच, दशैँको अवसर पारेर फूलपातीदेखि चार नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन्। यसअघि माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता उक्त मितिमा प्रदर्शन आउने तय भएकोमा ‘अभिमन्यु स् च्याप्टर १’ पनि फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने हो। भदौ २७ गते प्रदर्शन मिति तय भएको उक्त फिल्म जेनजी आन्दोलनका कारण फूलपातीमा धकेलिएको हो।

प्रकाशित मिति : भाद्र ३०, २०८२ सोमबार  १० : ३४ बजे