भारत सरकारले भन्यो – लद्दाख प्रदर्शनलाई नेपालको जेन जी आन्दोलनसँग जोडेर भ्रम फैलाइयो



काठमाडौं । भारतको सङ्घीय सरकारद्वारा प्रशासित लद्दाखलाई राज्यको दर्जा दिन माग गर्दै विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भएको हिंसात्मक झडपलाई नेपालको जेन जी आन्दोलनसँग जोडेर भ्रम फैलाइएको भारत सरकारले दाबि गरेको छ ।

भारतको सङ्घीय गृह मन्त्रालयले जारी गरिएको एक विज्ञप्तिमा भोकहड्तालमा रहेका अभियानकर्मी सोनम वाङचुकलाई दोष लगाउँदै उनले उत्तेजक अभिव्यक्ति दिएर भिडलाई उक्साएको आरोप लगाएको छ।

उनले भोकहड्ताल जारी राख्दै यसको सन्दर्भका रूपमा अरब स्प्रिङ र नेपालमा जेन जी शैलीको विरोधको उत्तेजक उल्लेख गरी जनतालाई भ्रमित पारेको भारतको सङ्घीय गृह मन्त्रालयको दाबि छ ।

विवरणहरूका अनुसार प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। गम्भीर घाइते भएका चार जनाको पछि मृत्यु भएको थियो।

गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनुपर्‍यो, जसमा दुर्भाग्यवश केही मानिस हताहत भएको विवरण छ।’

लद्दाखलाई राज्यको दर्जा दिन माग गर्दै विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भएको हिंसात्मक झडपमा कम्तीमा चार जनाको मृत्यु भएपछि भारतीय सुरक्षाबलले उक्त हिमालय क्षेत्रको राजधानी लेहमा कर्फ्यू लगाएको छ।

बुधवार उत्पन्न उक्त अवस्थामाझ दर्जनौँ मानिसहरू घाइते हुनुका साथै भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी भएको छ।

प्रदर्शनकारीहरूले भाजपाको स्थानीय कार्यालयमा हमला गर्दै उक्त भवनमा आगजनी गरेको र प्रहरी गाडीमा आगजनी गर्दा कम्तीमा ३० जना प्रहरी घाइते भएको उल्लेख छ।

लद्दाख कहाँ छ ? त्यहाँको मुद्दा के हो ?

मुस्लिम तथा बौद्ध जनसङ्ख्याको बाहुल्य भएको पहाडी मरुभूमि लद्दाखले सन् २०१९ मा आफ्नो अर्धस्वायत्तता गुमाएको थियो।

भाजपा सरकारले यसलाई त्यसअघि भारत-प्रशासित जम्मू र कश्मीरबाट अलग गर्दै दुवैमा प्रत्यक्ष शासन लगाएको थियो।

चीन र पाकिस्तानसँग सीमा जोडिएको लद्दाखको जनसङ्ख्या झन्डै ३ लाख छ।

हिंसा भड्किएको लेह क्षेत्रमा बौद्ध समुदायको बाहुल्य छ। उनीहरूले दशकौँदेखि आफ्ना लागि छुट्टै क्षेत्रको माग गर्दै आएका छन्।

मुस्लिमबहुल कारगिल जिल्लाका बासिन्दा भने पहिलेदेखि नै भारत-प्रशासित कश्मीरमा एकीकृत हुन चाहन्थे।

तर सन् २०१९ देखि यी दुवै समुदायले एकसाथ लद्दाख राज्य र्स्थापनाको माग गर्दै आएका छन्। त्यसले उनीहरूलाई जागिर र जग्गाका लागि आरक्षण दिने उनीहरूको अपेक्षा छ।

बुधवारको हिंसाको कारण अझै स्पष्ट छैन। महिनौँयता त्यस क्षेत्रमा बेलाबेलामा विरोध प्रदर्शनहरू भइरहेका छन्। त्यहाँ राज्यको मागले ठूलो समर्थन जुटाइरहेको छ।तर बुधवारको हिंसा कैयौँ दशकमा त्यहाँ देखिएको सबैभन्दा खराब थियो।

सरकारले उक्त प्रदर्शनको नेतृत्व गरिरहेका अभियानकर्मी सोनम वाङचुकलाई हिंसा भड्काएको आरोप लगाएको छ। वाङचुकले उक्त आरोप अस्वीकार गरेका छन्।

वाङचुकले सेप्टेम्बर १२ मा सुरु गरेको आमरण अनसन रद्द गर्दै हिंसाले आफूहरूको उद्देश्यलाई हानि मात्र पुर्‍याउनेू भन्दै शान्त रहन आह्वान गरेका छन्।

उनले हिंसामा आफ्नो कुनै खाले भूमिका नभएको भन्दै कैयौँ वर्षदेखि बेरोजगार रहेकासहितका कैयौँ युवाहरूको बढ्दो निराशाले उनीहरूलाई सडकमा ल्याएको बताएका छन्।बीबीसीबाट

प्रकाशित मिति : आश्विन १०, २०८२ शुक्रबार  ११ : ५५ बजे