काठमाडौं । कुमारी बैंक लिमिटेड र Gesellschaft fur internationale zusammenarbeit (GIZ,जिआईजेड) बीच ‘नेपालको लागि दिगो विद्युतीय यातायात परियोजना’ Sustainable Electric Transport for Nepal (SET4NPL) अन्तर्गत एक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि सार्वजनिक यातायात सञ्चालकहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो र मिनीबसको स्वीकृति तथा सञ्चालनलाई तीव्र बनाउन सम्झौताले महत्वपुर्ण भुमिका खेल्ने बैंकले जनाएको छ। सम्झौताले वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई पनि सघाउने विश्वास गरेको पनि बैंकले जनाएको छ।
‘नेपालको लागि दिगो विद्युतीय यातायात परियोजना’ जिआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटको संयुक्त पहल हो, जुन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका सरकारी तथा साझेदार संस्थासँग सहकार्यमा कार्यान्वयन भइरहेको छ। यो परियोजना न्यूनीकरण कार्य सुविधाको आर्थिक सहयोगमा सञ्चालनमा छ।
परियोजनाले करिब ३,५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालका सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन मद्दत गर्नेछ।
सम्झौताले आर्थिक सिमाबद्धतालाई ध्यानमा राख्दै, यस पहलले परम्परागत इन्धनमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्ने उद्देश्य राखेको बैंकले जनाएको छ।
यस परियोजनामा सार्वजनिक यातायातलाई अझ सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेशन, जीपीएस उपकरण, एलईडी रुट डिस्प्ले र ओपन लूप ई–टिकटिङ प्रणाली जस्ता डिजिटल सुविधा पनि समावेश गरिएको छ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ र ३१७ एटिएम मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ।
बैंक आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।














