बञ्चरेडाँडामा फेरि रोकिए फोहोर बोकेका गाडी



काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध भएको छ।

फोहोर लिएर गएका गाडीहरु बन्चरेडाँडा जाने बाटोमा रोकिएका छन्।

केही गाडी भने काठमाडौँ फिर्ता गइरहेका छन्।

केही समयअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयले अस्थायी रूपमा अवरोध हटाएका थिए।

तर आफ्ना माग पूरा नभएको र घिसिङले झूटो बोलेको भन्दै बञ्चरेडाँडा र सिसडोलका स्थानीयले मंगलबार पत्रकार सम्मेलन गरी फोहोर रोक्ने चेतावनी दिएका थिए। सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएर पनि कार्यान्वयन नगरेको आरोप उनीहरूको थियो।

बञ्चरेडाँडाका स्थानीय बासिन्दाहरूले सरकारले आफ्ना माग पूरा नगरेको भन्दै त्यसक्षेत्रमा उपत्यकाको फोहोर व्यवस्थापन कार्य अवरोध गर्ने घोषणासहित आन्दोलनको तयारी गरेका छन्।

फोहोर विसर्जनमा अवरोध भएपछि मन्त्री घिसिङले मंगलबार आन्दोलनकारीलाई टेलिफोन गरी प्रतिबद्धता जनाइएका बुँदाहरू कार्यान्वयनमा गइसकेकाले अब फोहोर फाल्न अवरोध नगर्न र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए।

प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार  ३ : २२ बजे