रवि-बालेनबीच भेट, के भयो कुराकानी ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा रास्वपा उपसभापति डिपी अर्याल र बालेनका सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी भएका थिए। भेटवार्तामा चुनावी सहकार्य र एजेन्डा लगायतका विषयमा छलफल भएको छ।

रास्वपा सभापति लामिछाने शुक्रबार मात्र नख्खु कारागारबाट धरौटीमा रिहा भएका थिए।

लामिछाने र बालेनबीच लगातार दुई दिन दुईपटक नै भेट भएको छ । रास्वपा स्रोतका अनुसार उनीहरुबीच आइतबार पनि भेट भएको थियो। सोमबारको भेट भने रास्वपा केन्द्रीय सदस्य असिम साहको घरमा भएको हो।

छलफलमा बालेनका तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी थिए । रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए।

छलफल सहकार्यमा केन्द्रित भएको बताइएको छ । ‘छलफल प्रगतिउन्मुख छ । कसरी सहकार्य गर्ने भन्नेमै केन्द्रित कुरा भयो’ सहभागी एक नेताले भने।

भेटमा अबको निर्वाचनमा रास्वपाको तर्फबाट बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव भएको पनि बताइएको छ। भेटमा सहभागी असिम साहले भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए।

छलफलका विषय सार्वजनिक त भएका छैनन् तर यो भेटले एकताको सन्देश दिएको उनीहरु निकट नेताले बताएका छन्।

भेटवार्ताको चाँजोपाँजो मिलाएका रास्वपा नेता असिम साहले सञ्चारकर्मीहरुसँग भने, ‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश केहो भने दुई जना मिलेर जाने हो। अब अगाडि बढ्ने हो।’

उनले फेसबुकमा पनि लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’

प्रकाशित मिति : पुस ८, २०८२ मंगलबार  ११ : ०१ बजे