भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गरिएको ट्रम्पको घोषणा, लागुपदार्थ र आतङ्कवादको मुद्दा चलाइने



काठमाडौं । अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमणूमा त्यहाँका नेता राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको घोषणा गरेका छन्।

उनीहरूलाई देशबाहिर लगिसकिएको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्।

मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन्।

तर अमेरिकी महान्यायाधिवक्ताले मदुरोविरुद्ध लागुऔषध र आतङ्कवादका अभियोग घोषणा गरेका छन्।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएकी छन्।

सरकारले उनीहरू दुवैको तत्काल जीवनको प्रमाणूको माग गरेको उनले बताइन्।

अधिकारीहरूले बताए अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो।

मदुरोलाई पक्राउ गरिएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाविरुद्ध थप कदम नचालिने ठानेका एक रिपब्लिकन सिनेटरले बताए।मदुरो अहिले अमेरिकी नियन्त्रणमा भएकाले भेनेजुएलामा थप कारबाही नहुने विदेशमन्त्री मार्को रुबियोको भनाई छ ।

भेनेजुएलामा सङ्कटकाल

भेनेजुएलाको सरकारले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै अमेरिकी आक्रामकतालाई नस्वीकार्ने बताउँदै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ।

यसअघि राष्ट्रपति मदुरोले उक्त हमला अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयासको रूपमा गरेको भन्दै त्यसको निन्दा गरेका थिए।

मदुरोले भने अमेरिकाले भेनेजुएलाको तेल भण्डार कब्जा गर्न खोजेको आरोप लगाएका छन्। तर उनले शान्ति र वार्ताको लागि अपिल समेत गरिरहेका थिए।

प्रकाशित मिति : पुस १९, २०८२ शनिबार  ८ : ०६ बजे